दफा ३५
सम्झौता उल्लंघन गरेमा कोषको अधिकार
(१) कुनै संगठित संस्थाले सम्झौता अनुसार कोषलाई बुझाउनु पर्ने कुनै कर्जा, त्यसको ब्याज र पेश्की बापतको बाँकी रकम नबुझाई कोषसंग भएको लिखतको शर्त उल्लंघन गरेमा वा त्यस्तो संगठित संस्थाको आर्थिक कारोबार सञ्चालनमा नियन्त्रण गर्नु पर्ने मनासिब माफीकको कारण छ भन्ने समितिलाई लागेमा शर्तबमोजिम भाखाको अवधि नपुगेको भएतापनि कोषले ऋणी संगठित संस्थाको व्यवस्थापन तथा आर्थिक कारोबारमा नियन्त्रण गरी वा सो कर्जा बापत धितो रहेको वा ऋणी संगठित संस्थाको अन्य सम्पत्तिहरू कब्जा गरी चलन गर्न, बहाल वा ठेक्का पट्टामा दिन वा लिलाम बढाबढ वा बोलपत्र वा आपसी छलफलद्वारा बिक्री गरी आफूले लिनु पर्ने रकम असूल उपर गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम ऋणी संगठित संस्थाले दिएको धितो वा उक्त संगठित संस्थाको अन्य सम्पत्ति कब्जा गरी लिलाम बढाबढ वा बोलपत्रद्वारा बिक्री गरेकोमा कोषले लिनु पर्ने रकम लिई बढी भएको रकम सम्बन्धित संगठित संस्थालाई दिनु पर्नेछ । (३) उपदफा (१) बमोजिम लिलाम बढाबढ वा बोलपत्रद्वारा ऋणी संगठित संस्थाको सम्पत्ति लिलाम बिक्री भएमा वा त्यसरी लिलाम बिक्री गर्न पटक पटक प्रयास गर्दा पनि बिक्री हुन नसकेमा वा प्राप्त मूल्यमा बिक्री गर्दा कोषको हितमा नभई सो सम्पत्तिको स्वामित्व कोषले आफैले लिने निर्णय भएमा दाखिल खारेज गर्ने अड्डाले त्यसरी लिलाम बिक्रीबाट लिने व्यक्ति वा कोषको नाममा सो सम्पत्ति दाखिल खारेज गरी दिनु पर्नेछ ।